फिफाद्वारा एन्फा निलम्बन, नेपाली टोली र क्लब अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित हुने जोखिम

काठमाडौं, १७ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि नेपाली राष्ट्रिय टोली तथा क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिने जोखिममा परेका छन्।

एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फालाई पत्राचार गर्दै निलम्बनका कारण नेपालको अन्तर्राष्ट्रिय सहभागिता रद्द हुन सक्ने औपचारिक जानकारी दिएको हो।

एएफसीका अनुसार फिफा काउन्सिलले २४ जुन २०२६ देखि लागू हुने गरी एन्फामाथि निलम्बन गर्ने निर्णय गरेको हो। निलम्बनसँगै एन्फाले फिफाको सदस्यका रूपमा पाउने सबै अधिकार गुमाएको उल्लेख गरिएको छ।

यससँगै निलम्बन फुकुवा नभएसम्म नेपालका कुनै पनि राष्ट्रिय टोली वा क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने स्थिति बनेको छ।

एएफसीले विभिन्न प्रतियोगिताका लागि अन्तिम समयसीमासमेत तोकेको छ। तोकिएको मितिभित्र निलम्बन फुकुवा नभए नेपाल निम्न प्रतियोगिताबाट बाहिरिनेछ:

  • एएफसी महिला च्याम्पियन्स लिग २०२६/२७ — २९ जुन २०२६ सम्म
  • एएफसी यू–१७ महिला एसियन कप चीन २०२७ छनोट — १३ जुलाई २०२६ सम्म
  • एएफसी यू–२० एसियन कप चीन २०२७ छनोट — १ अगस्ट २०२६ सम्म

एएफसी महासचिव दातुक सेरी विन्डसर जोनले पठाएको पत्रमा उल्लेख भएअनुसार तोकिएको मितिभित्र निलम्बन कायम रहेमा नेपाली टोलीहरू स्वतः सम्बन्धित प्रतियोगिताबाट हटाइनेछन्।

यस निर्णयले विशेषगरी नेपालको महिला फुटबल र युवा खेलाडीहरूको अन्तर्राष्ट्रिय अनुभव र विकासमा गम्भीर असर पार्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्