जर्मनीको रद्द गरिएको गोलबारे फिफाको प्रष्टिकरण, गोलकिपरमाथिको अवरोधमा कडाइ गर्ने संकेत
काठमाडौं, १७ असार । विश्वकप फुटबल २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा जर्मनीविरुद्ध रद्द गरिएको गोलबारे विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो धारणा सार्वजनिक गरेको छ।
फिफाले गोलकिपरलाई अवरोध गर्ने खालका घटनामा कडाइका साथ नियम लागू गर्ने विषय विश्वकप सुरु हुनुअघि नै सहभागी टोलीका प्रशिक्षक र खेलाडीलाई जानकारी गराइएको जनाएको छ।
अतिरिक्त समयमा जर्मनीका जोनाथन टाहले गरेको गोल सुरुमा मान्यता पाएको थियो। तर, भिडियो सहायक रेफ्रीको सुझावपछि मुख्य रेफ्री जलाल जायदले पुनरावलोकन गर्दै उक्त गोल रद्द गरेका थिए। जर्मनीका वाल्डेमार एन्टोनले पराग्वेका गोलरक्षक ओर्लान्डो गिलमाथि फाउल गरेको निष्कर्ष निकालिएपछि गोललाई मान्यता नदिइएको थियो।
निर्धारित तथा अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ पराग्वे ४–३ ले विजयी बन्यो। यससँगै चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ। विश्वकप इतिहासमा पेनाल्टी सुटआउटमा जर्मनीको यो पहिलो हार हो।
खेलपछि जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले उक्त घटनालाई फाउल मान्न नसकिने र गोल रद्द गरिनु न्यायोचित नभएको प्रतिक्रिया दिएका छन्।
यता, फिफा रेफ्री समितिका प्रमुख पियरलुइजी कोलिनाले भने निर्णय नियमअनुसार भएको बताएका छन्। उनले बल खेल्ने प्रयास नगरी विपक्षी खेलाडी, विशेषगरी गोलरक्षकको बाटो छेक्ने वा अवरोध गर्ने अवस्थामा रेफ्री र भिडियो सहायक रेफ्रीले हस्तक्षेप गर्ने व्यवस्था पहिलेदेखि नै लागू रहेको स्पष्ट पारे।
यद्यपि, उक्त निर्णयलाई लिएर फुटबल वृत्तमा बहस जारी छ। केही विश्लेषकले जर्मनीका खेलाडीले आफ्नो स्थान परिवर्तन नगरेको र गोलरक्षक आफैँ उनीसँग ठोक्किएको दाबी गर्दै भिडियो सहायक रेफ्रीको हस्तक्षेप आवश्यक थियो वा थिएन भन्ने विषयमा प्रश्न उठाएका छन्।







प्रतिक्रिया दिनुहोस्