हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको क्वार्टरफाइनलमा, इतिहासमै पहिलो पटक नकआउट जित

काठमाडौं, १७ असार । नर्वेले फिफा विश्वकप २०२६ को अन्तिम १६ चरणमा आइभोरी कोस्टलाई पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा जित हासिल गरेको छ।

खेलको ८६औँ मिनेटमा स्ट्राइकर एर्लिंग हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए। यससँगै नर्वे अब क्वार्टरफाइनलमा ब्राजिलसँग भिड्ने भएको छ।

जितपछि हालान्डले फिफासँग कुरा गर्दै ऐतिहासिक उपलब्धिप्रति खुसी व्यक्त गरे। उनले २८ वर्षपछि विश्वकपमा छनोट भएर समूह चरण पार गर्दै नकआउटमा आइभोरी कोस्टलाई पराजित गर्नु टोलीका लागि अविस्मरणीय क्षण भएको बताए।

‘यो इतिहास हो, पत्याउनै गाह्रो भइरहेको छ। अब ब्राजिलसँग खेल्ने अवसर पाएका छौँ। अहिले हामी निकै खुसी छौँ र बाँकी खेलहरूलाई बोनसका रूपमा लिँदै ढुक्क भएर खेल्नेछौँ,’ हालान्डले भने।

मिडफिल्डर प्याट्रिक बर्गले हालान्डको प्रशंसा गर्दै उनी विश्वकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेको बताए। उनका अनुसार हालान्डले अवसरको सही सदुपयोग गर्ने क्षमता राख्छन् र टोलीमा उनको उपस्थितिले नर्वेलाई थप बलियो बनाएको छ।

बर्गले आइभोरी कोस्टविरुद्धको खेल निकै कठिन भएको उल्लेख गर्दै टोलीले वर्षौंदेखिको मेहनतको प्रतिफल पाएको प्रतिक्रिया दिए।

नर्वेका मुख्य प्रशिक्षक स्टेले सोल्बाकेनले खेल अत्यन्त प्रतिस्पर्धात्मक भएको बताए। उनका अनुसार १–१ को बराबरीपछि नर्वेले उत्कृष्ट पुनरागमन गर्दै जित सुनिश्चित गरेको हो। उनले आइभोरी कोस्टले अन्तिम समयमा केही राम्रो अवसर सिर्जना गरे पनि रक्षापंक्तिले दबाब सामना गर्न सफल भएको बताए।

सोल्बाकेनले विश्वकपको नकआउट चरणमा पहिलो जित नर्वे फुटबलका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै अब टोलीले केही समय विश्राम गरेर ब्राजिलविरुद्धको क्वार्टरफाइनल खेलको तयारी गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्