प्रतिनिधिसभा समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफाबार छलफल
काठमाडौं, १७ असार । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि प्रस्तावना तथा विभिन्न दफाबारे दफाबार छलफल गरेको छ।
सिंहदरबारमा आज बसेको बैठकमा समितिका सदस्यहरूले गम्भीर अपराधको न्यायिक निरूपणका लागि विश्वसनीय विधि विज्ञान परीक्षण, अपराधको वर्गीकरण तथा प्रभावकारी अनुसन्धानको व्यवस्था विधेयकको प्रस्तावनामै स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने सुझाव दिएका छन्।
छलफलका क्रममा सदस्यहरूले प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिक प्रमाणसँगै डिजिटल अपराधको परीक्षण तथा अनुसन्धानलाई पनि विधेयकमा समेट्नुपर्ने आवश्यकता औंल्याए। उनीहरूले नमूना सङ्कलनपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने वर्तमान अवस्थाको अन्त्य गर्न आवश्यक जनशक्ति तथा प्रयोगशालाको पर्याप्त व्यवस्था कानुनमै सुनिश्चित गर्नुपर्ने धारणा राखे।
समितिका सभापति डा. ओजस्वी शेरचनले विधि विज्ञान प्रयोगशालाका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक व्यवस्था नेपालमा नभएकाले सम्बन्धित शैक्षिक योग्यताबारे आवश्यक तथ्याङ्क प्राप्त भएपछि समितिले निर्णय गर्ने जानकारी दिइन्।
बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्राथमिक तहका शिक्षकको दरबन्दी नभएका विद्यालयमा बाध्यात्मक अवस्थामा माध्यमिक तहका प्रधानाध्यापकबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।
समितिले विधेयकमाथिको आगामी दफाबार छलफलका लागि सम्बन्धित मन्त्रालयका प्रतिनिधिसँगै विषयविज्ञ गोपाल चौधरीलाई आमन्त्रण गर्ने निर्णय गरेको छ।







प्रतिक्रिया दिनुहोस्