हुम्लाको स्याँडा गाउँमा पहिलोपटक सडक यातायात सेवा पुग्यो

काठमाडौं, १७ असार । हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ। कर्णाली नदीपारि अवस्थित उक्त गाउँमा सडक यातायात सेवा विस्तार भएसँगै स्थानीयवासी उत्साहित भएका छन्।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्याँडा याङ्गु सडक निर्माणका लागि रु एक करोड १२ लाख बजेट विनियोजन गरेपछि गाउँसम्म सडक पहुँच पुगेको हो।

यसअघि सिमकोट गाउँपालिकाका सात वटै वडामा यातायात सेवा पुगिसकेको भए पनि स्याँडा गाउँ मात्र बाँकी थियो।

दुर्गम गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयले फूलमाला, बाजागाजा सहित उत्सव मनाएका थिए।

वडाध्यक्ष कमल बुढाका अनुसार सडक सञ्चालनमा आएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तु ढुवानीमा सहजता आएको छ।

सडक पहुँच विस्तारसँगै स्थानीयमा नयाँ आशा जागेको छ। यसले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार–व्यवसायका क्षेत्रमा थप अवसर सिर्जना हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्