एमबाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा, स्वीडेन ३–० ले पराजित

काठमाडौं, १७ असार ।  किलिएन एमबाप्पेको ऐतिहासिक प्रदर्शनमा फ्रान्सले फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा स्वीडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले फिलाडेल्फियामा हुने प्रि-क्वार्टरफाइनलमा पराग्वेको सामना गर्नेछ।

अत्यधिक गर्मीबीच सम्पन्न खेलमा फ्रान्सले सुरुदेखि नै स्वीडेनमाथि दबाब बनाएको थियो। २०औँ मिनेटमा एमबाप्पेको गोल अफसाइडका कारण रद्द भयो भने त्यसको केही समयपछि उनको अर्को प्रहार पोस्टमा लागेर फर्कियो। माइकल ओलिसेको आकर्षक ‘सिजर किक’ पनि पोस्टमा लाग्दै गोल हुन सकेन।

पहिलो हाफको इन्जुरी समयमा ओस्मान डेम्बेलेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एमबाप्पेले स्वीडेनका डिफेन्डरलाई छक्याएर सुन्दर गोल गरेपछि फ्रान्सले १–० को अग्रता लिएको थियो।

दोस्रो हाफको ५३औँ मिनेटमा माइकल ओलिसेको पासमा ब्राडली बारकोलाले फ्रान्सका लागि दोस्रो गोल थपे। त्यसपछि ७४औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको सहज जित सुनिश्चित गरे।

एमबाप्पेको नयाँ कीर्तिमान

यस खेलमा दुई गोल गरेसँगै एमबाप्पे विश्वकपको नकआउट चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले नकआउट चरणमा मात्रै १० गोल गरेका छन्।

यस्तै, गोल्डेन बुटको दौडमा उनी अर्जेन्टिनाका लियोनेल मेसीसँग ६–६ गोल गर्दै संयुक्त रूपमा शीर्ष स्थानमा छन्।

२७ वर्षकै उमेरमा एमबाप्पे विश्वकप इतिहासमा दोस्रो सर्वाधिक गोलकर्ता पनि बनेका छन्। उनले १८ खेलमा १८ गोल गरेका छन्। अब उनी सर्वाधिक गोलकर्ता लियोनेल मेसीको १९ गोलको कीर्तिमानभन्दा केवल एक गोलले पछि छन्।

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी

  • लियोनेल मेसी (अर्जेन्टिना) — २९ खेलमा १९ गोल
  • किलिएन एमबाप्पे (फ्रान्स) — १८ खेलमा १८ गोल
  • मिरोस्लाभ क्लोस (जर्मनी) — २४ खेलमा १६ गोल
  • रोनाल्डो (ब्राजिल) — १९ खेलमा १५ गोल

अर्को प्रतिस्पर्धा

फ्रान्सले अब फिलाडेल्फियामा हुने अन्तिम १६ को खेलमा पराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। पराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै प्रि-क्वार्टरफाइनलमा स्थान बनाएको हो। लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यसहित अघि बढिरहेको फ्रान्सेली टोली उत्कृष्ट लयमा देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्