कुरियर सेवालाई अत्यावश्यक सेवामा वर्गीकरण गर्न व्यवसायीको माग
काठमाडौं, १६ असार । कुरियर व्यवसायीहरूले कुरियर सेवालाई पनि अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार हुलाक सेवा विभागले काठमाडौंमा आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिलराज भट्टराईले सो माग गरेका हुन्।
उनले कुरियर सेवा सञ्चार मन्त्रालय वा उद्योग मन्त्रालय अन्तर्गत कुन निकायमा पर्ने भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताए।
अध्यक्ष भट्टराईले कुरियर सेवालाई हुलाक सेवाजस्तै अत्यावश्यक सेवाको रूपमा मान्यता दिँदै २४ घण्टा आवतजावतको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार कुरियर सेवाले संवेदनशील सामग्री, भ्याक्सिन तथा अन्तर्राष्ट्रिय सामानको ढुवानीमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। साथै, नेपालको निर्यात क्षेत्रमा समेत करिब ६० प्रतिशत योगदान रहेको उनले दाबी गरे।
सरकारले व्यवसायीका मागप्रति बेवास्ता गरेको भन्दै उनले आलोचना पनि गरे।
व्यवसायीहरूले भन्सार प्रक्रियामा सहजता र कानुनी स्पष्टता नहुँदा समस्या भइरहेको गुनासो समेत गरेका छन्।












प्रतिक्रिया दिनुहोस्