सन्तान गुमाएको पीडाबीच गोल गरेपछि भावुक बने कोडी गाक्पो
काठमाडौं, १६ असार । विश्वकप फुटबलको अन्तिम ३२ को खेलमा नेदरल्यान्ड्सका फरवार्ड कोडी गाक्पोले सन्तान गुमाएको केही दिनमै देशका लागि गोल गर्दै भावुक बनेका छन्।
नेदरल्यान्ड्सका २७ वर्षीय लिभरपुल स्टार गाक्पोले मोरक्कोविरुद्ध पहिलो गोल गरेका थिए। गोलपछि उनी घुँडा टेकेर मैदानमै रोएका थिए। टोलीका सहकर्मीहरूले उनलाई घेरेर सान्त्वना दिएका थिए भने कप्तान भर्जिल भान डाइकले अँगालो हाल्दै साथ दिएका थिए।
गाक्पोकी पार्टनर नोआ भान डेर बिजेले हालै सामाजिक सञ्जालमार्फत गर्भावस्थाकै क्रममा आफ्नो दोस्रो सन्तान गुमाएको दुःखद खबर सार्वजनिक गरेकी थिइन्। यति ठूलो व्यक्तिगत पीडाका बाबजुद गाक्पोले टोलीसँगै रहेर खेल्ने निर्णय गरेका थिए।
निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। तर नेदरल्यान्ड्स अन्ततः पेनाल्टीमा ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
खेलको ११३औँ मिनेटमा गाक्पोलाई मैदानबाट बाहिर निकालिएको थियो, जसका कारण उनले पेनाल्टी सुटआउटमा भाग लिन पाएनन्।
गाक्पोले यस विश्वकपमा उल्लेखनीय प्रदर्शन गर्दै कुल तीन गोल गरेका थिए। तर अन्तिम ३२ को हारसँगै नेदरल्यान्ड्सको यात्रा समाप्त भएको छ।







प्रतिक्रिया दिनुहोस्