पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम १६ मा
काठमाडौं, १६ असार । विश्वकप फुटबल २०२६ अन्तर्गत अन्तर्गत भएको रोमाञ्चक खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
खेलको ७२औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। तर इन्जुरी समयको ९१औँ मिनेटमा इसा डिओपले हेडमार्फत गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा फर्काए।
पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सका तीन खेलाडी गोल गर्न असफल भए। पेनाल्टी प्रहारका लागि मैदान छिरेका जस्टिन क्लुइभर्ट र क्विन्टेन टिम्बरले समेत अवसर खेर फाले। मोरक्कोका गोलकिपर यासिन बोनोले महत्त्वपूर्ण बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे भने इस्माइल साइबारीले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गरे।
हारसँगै नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानको रणनीतिमाथि आलोचना सुरु भएको छ। उनले सुरुदेखि नै पाँच डिफेन्डर उतार्ने निर्णय गरेका थिए, जसले टोलीको आक्रामक खेल प्रभावित भएको टिप्पणी गरिएको छ।
यसअघि सोही दिन जर्मनी पनि पराग्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। यससँगै विश्वकपमा युरोपका दुई बलिया टोली एकै दिन बाहिरिएका छन्।
अब मोरक्कोले जुलाई ४ मा ह्युस्टनमा हुने अन्तिम १६ को खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।







प्रतिक्रिया दिनुहोस्