हेटौँडा–काठमाडौं छोटो दूरीको सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमााडौं, १५ असार ।  हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं जोड्ने छोटो दूरीको सडक आगामी असार २५ गतेसम्म बन्द रहने भएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी खोलामा पुल निर्माण तथा उकालो सडक ढलानका लागि जेठ १५ गतेदेखि एक महिनाका लागि सडक पूर्ण रूपमा बन्द गरिएको थियो। पुल निर्माण र ढलानको काम सम्पन्न भए पनि प्राविधिक कारणले सडक तत्काल सञ्चालनमा ल्याउन नसकिने भएपछि बन्द अवधि थप गरिएको पूर्वाधार विकास कार्यालय, हेटौँडाले जनाएको छ।

कार्यालयका अनुसार ढलान गरिएको सडकमा कङ्क्रिट पूर्ण रूपमा सेट हुन र आवश्यक मजबुती (स्ट्रेन्थ) हासिल गर्न अझै केही समय लाग्ने भएकाले सवारी आवागमन रोकिएको हो।

पूर्वाधार विकास कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले सडक खण्ड साँघुरो भएकाले ढलान गरिएको भाग पूर्ण रूपमा सवारी सञ्चालनका लागि तयार नभएको बताए।

सडक बन्द रहने अवधिभर हेटौँडा–काठमाडौं आवतजावत गर्ने सवारीसाधनलाई कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ। साथै, उक्त मार्गमा सहज आवागमनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर र काठमाडौंसँग आवश्यक समन्वय गरिएको पनि कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्