कृषि विकास र किसानका समस्या समाधानमा ध्यान दिन प्रचण्डको सरकारलाई आग्रह
काठमााडौं, १५ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गरेका छन्। उनले श्रमजीवी किसानको मेहनत र समर्पणबाट नै देशको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण हुने बताएका छन्।
संयोजक प्रचण्डले रोपाइँको मुख्य समयमा किसानलाई सहज रूपमा रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा तथा आवश्यक कृषि सामग्री उपलब्ध गराउने वातावरण सुनिश्चित गर्न सरकारलाई सुझाव दिएका छन्।
उनले कृषि उत्पादन वृद्धि, किसानको जीवनस्तर सुधार तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रचण्डले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसले कृषि र किसानप्रतिको सम्मान बढाउने र उत्पादन वृद्धिको नयाँ संकल्पलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।







प्रतिक्रिया दिनुहोस्