विश्वकपबाट बाहिरिएसँगै स्कटल्याण्डका प्रशिक्षक स्टिभ क्लार्कको राजीनामा

काठमाडौं, १४ असार ।  फिफा विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएसँगै स्कटल्याण्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले पदबाट राजीनामा दिएका छन्।

शनिबार अन्य खेलहरूको नतिजापछि स्कटल्याण्ड प्रतियोगिताबाट औपचारिक रूपमा बाहिरिएलगत्तै ६२ वर्षीय क्लार्कले आफ्नो जिम्मेवारी त्याग्ने निर्णय गरेका हुन्।

क्लार्कले गत मे महिनामा मात्रै सन् २०३० को विश्वकपसम्मका लागि सम्झौता नवीकरण गरेका थिए। करिब सात वर्ष स्कटल्याण्डको राष्ट्रिय टोली सम्हालेका उनले भावुक हुँदै समर्थकहरूलाई पत्र लेख्दै बिदाइ लिएका छन्।

‘यो बिदाइको सबैभन्दा भावुक पक्ष मेरा खेलाडीहरू हुन्। उनीहरू बिना सन् २०१९ देखि अहिलेसम्मका कुनै पनि मीठा सम्झनाहरू सम्भव हुने थिएनन्। मलाई साथ दिनुभएकोमा धन्यवाद र मेरो उत्तराधिकारीलाई शुभकामना,’ क्लार्कले लेखेका छन्।

क्लार्ककै नेतृत्वमा स्कटल्याण्ड २८ वर्षपछि पहिलो पटक विश्वकपमा छनोट हुन सफल भएको थियो। यस पटक प्रतियोगितामा स्कटल्याण्डले हाइटीलाई १–० ले हराउँदै राम्रो सुरुवात गरेको भए पनि त्यसपछि मोरक्को र ब्राजिलसँग पराजित भएपछि समूह चरणबाटै बाहिरिएको हो।

उनको नेतृत्वमा स्कटल्याण्डले युरोपियन छनोटमा समूह विजेता बन्न सफल भएको थियो। क्लार्कलाई स्कटिस फुटबल हल अफ फेममा समेत समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्