सेरोफ्लो रोटाक्याप्स २५० नक्कली औषधि फेला परेपछि अनुगमन कडा, ६६ फार्मेसी निरीक्षण

काठमाडौं, १४ असार ।     सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सार्वजनिक बिदाका दिनसमेत औषधि बजारमा अनुगमन जारी राखिएको हो।

औषधि व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा कुल ६६ वटा फार्मेसी तथा औषधि पसलको निरीक्षण गरिएको छ।

महाराजगन्ज क्षेत्रमा १५, वीर अस्पताल र चाबहिल आसपास १८, पाटन र जावलाखेल क्षेत्रमा ११, बसपार्क–बालाजु क्षेत्रमा १४ तथा बनेपामा ८ वटा फार्मेसीको अनुगमन गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट सेरोफ्लो रोटाक्याप्स २५० का २१ थान नक्कली औषधि बरामद गरिएको छ। उक्त पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान अघि बढाइएको छ।

त्यसैगरी, नवीकरणबिनै सञ्चालनमा रहेका, म्याद गुज्रिएका औषधि बिक्री गरिरहेका, फार्मासिस्टबिना औषधि वितरण गरिरहेका तथा सरसफाइ र मापदण्ड पालना नगरेका १५ भन्दा बढी फार्मेसीलाई औषधि व्यवस्था विभाग, बिजुलीबजारमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। यसले उपभोक्तालाई गुणस्तरीय र सुरक्षित औषधि उपलब्ध गराउन तथा अवैध औषधि कारोबार नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विभागले नक्कली औषधिको भण्डारण, आपूर्ति तथा बिक्री वितरणमा संलग्न व्यक्ति र संस्थाको पहिचान गरी कानुनअनुसार कारबाही अघि बढाइने जनाएको छ।

साथै, सर्वसाधारणलाई औषधि खरिद गर्दा आधिकारिक तथा दर्ता भएका फार्मेसीबाट मात्र खरिद गर्न र शंका लागेमा सम्बन्धित निकायमा जानकारी दिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्