कोशी प्रदेशमा आर्थिक संकटका कारण ४४ एफएम रेडियो बन्द

काठमाडौं, १४ असार । आर्थिक सङ्कटका कारण कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो स्टेशन बन्द भएको तथ्य सार्वजनिक भएको छ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यपत्रअनुसार प्रदेशमा दर्ता भएका १२९ एफएम रेडियोमध्ये ४४ वटा बन्द भइसकेका छन्। बन्द हुनेमा १६ वटा सामुदायिक रेडियोसमेत रहेका छन्।

महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले आर्थिक अस्थिरता र बजार अभावका कारण सञ्चारमाध्यम सञ्चालनमा कठिनाइ बढ्दै गएको बताए। उनका अनुसार सञ्चार क्षेत्रलाई टिकाइ राख्न सरकारी नीति र बजेट सहयोग आवश्यक छ, विशेषगरी आदिवासी, जनजाति तथा लोपोन्मुख समुदायले मातृभाषामा सञ्चालन गर्ने मिडियालाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको छ।

कार्यपत्रमा कोशी प्रदेशमा हाल ९६ वटा पत्रपत्रिका प्रकाशित भइरहेको उल्लेख छ, जसमा १७ दैनिक, ७३ साप्ताहिक, ४ मासिक, १ द्वैमासिक र १ त्रैमासिक छन्।

त्यस्तै, इलेक्ट्रोनिक मिडियाअन्तर्गत ७ वटा टेलिभिजन सञ्चालनमा छन् भने एफएम रेडियोमध्ये ८५ वटा मात्र सक्रिय रहेको जनाइएको छ। स्थानीय तहमा दर्ता भएको एउटा मात्र एफएम रेडियो “आठराई एफएम” रहेको छ।

प्रदेशभर हाल ३९७ वटा अनलाइन सञ्चारमाध्यम दर्ता भएका छन्। सम्मेलनमा सहभागीहरूले पत्रकारितालाई डिजिटल प्रविधिसँग अनुकूल बनाउँदै आर्थिक र प्राविधिक चुनौती समाधान गर्न सके कोशी प्रदेशको पत्रकारिता मुलुककै उदाहरणीय बन्न सक्ने निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया दिनुहोस्