न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल

काठमाडौं, १४ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल बनेको छ।

महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पतालले ८९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। गत वर्ष ८८ अंक प्राप्त गरेको अस्पतालले यस वर्ष एक अंक सुधार गर्दै हरित श्रेणीमा आफ्नो स्थान कायम राख्न सफल भएको छ।

मूल्याङ्कनअनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ७७ अंकसहित दोस्रो तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित तेस्रो स्थानमा रहेका छन्।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष अस्पतालले सेवा प्रवाहमा उल्लेखनीय सुधार गरेको बताए। उनका अनुसार बिरामीले पाउने सेवा, अत्याधुनिक उपकरण, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन, औषधिको उपलब्धता, सरसफाइ र सेवा सञ्चालनका विभिन्न पक्षमा निरन्तर सुधार गरिएकाले राम्रो नतिजा हासिल भएको हो।

उनले चिकित्सक, नर्स तथा कर्मचारीको सकारात्मक कार्यशैली र सेवाप्रतिको प्रतिबद्धताले अस्पतालको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

गुणस्तर मापन तथा नियमन महाशाखाका संयोजक डा. श्रीराम तिवारीका अनुसार देशभरका १४ संघीय अस्पतालको सेवा गुणस्तर १ हजार ४९७ सूचकका आधारमा मूल्याङ्कन गरिएको हो। मूल्याङ्कनबाट देखिएका कमी सुधार गर्न मन्त्रालयले आवश्यक बजेट तथा कार्यक्रममार्फत सहयोग गर्दै आएको उनले बताए।

उनका अनुसार भरतपुर अस्पतालले अधिकांश सूचक पूरा गरेकाले उत्कृष्ट नतिजा हासिल गरेको हो। सामाजिक परीक्षण र अस्पताल विकास समितिको सक्रियतामा भने अझै सुधार आवश्यक रहेको उनको भनाइ छ।

हाल ६ सय शय्याको भरतपुर अस्पतालमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन्। अस्पतालले १४ वटा अति विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्