उपत्यकामा सडक सुरक्षा अभियान तीव्र, रोबोटदेखि एयर होस्टेससम्म परिचालन

काठमाडौं, १२ असार । काठमाडौं उपत्यकाका चोक–चोकमा आजभोलि विद्यार्थी, स्वयंसेवक र ट्राफिक प्रहरीहरू प्रचार सामग्रीसहित सडक सुरक्षा अभियानमा सक्रिय देखिन थालेका छन्। काठमाडौं, भक्तपुर र ललितपुरमा चालक तथा पैदल यात्रुलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै कडा कारबाही हुने चेतावनीसहित सचेतना फैलाइँदै छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले एयर होस्टेसलाई समेत सचेतना कार्यक्रममा परिचालन गरेको छ। गीता एभिएसनसँगको सहकार्यमा एयर होस्टेसमार्फत सडक सुरक्षा सन्देश प्रवाह भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

त्यसैगरी रोबोटिक प्रविधिबाट समेत सचेतना फैलाउने तयारी भइरहेको छ। ‘युनिट्री नेपाल’सँगको सहकार्यमा रोबोटलाई प्रोग्रामिङ गर्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताएका छन्। उनका अनुसार रोबोटमार्फत जेब्रा क्रसिङ प्रयोग र रातो बत्ती पालना गर्न यात्रु तथा चालकलाई सिकाइने योजना छ।

ट्राफिक प्रहरीले चलचित्रकर्मी, विद्यालय, स्वयंसेवक तथा नागरिक समाजसँग समेत सहकार्य गर्दै सचेतना अभियान सञ्चालन गरिरहेको छ। विद्यालयहरूमा सडक सुरक्षा सम्बन्धी २२ बुँदे सन्देश पठाइएको छ, जसमा सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने नियम उल्लेख गरिएको छ।

ट्राफिक प्रहरीले गीत र सामाजिक सञ्जालमार्फत पनि सचेतना फैलाइरहेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असार महिनाभर सचेतना अभियान सञ्चालन हुनेछ भने साउनदेखि ट्राफिक कारबाहीलाई कडाइका साथ लागू गरिनेछ।

एसएसपी सुरेश काफ्लेका अनुसार हालको जरिवाना प्रणाली प्रभावकारी नभएकाले दुर्घटना रोक्न कडाइ आवश्यक छ। उनले सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ संशोधन गरी न्यूनतम ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्नुपर्ने सुझाव दिएका छन्।

हाल उल्लङ्घनमा ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिवाना र सचेतना कक्षाको व्यवस्था छ। तर, ट्राफिक प्रहरीका अनुसार कम जरिवानाका कारण नियम उल्लङ्घन बढ्दै गएको भन्दै दण्ड प्रणाली कडा बनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्