अब २५ करोडसम्म स्थिर पुँजी भएका उद्योगका सबै सेवा वीरगञ्जबाटै, काठमाडौं धाउनुपर्ने झन्झट अन्त्य

काठमाडौं, १२ असार । २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगका सञ्चालकहरूले अब उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौं धाउनुपर्ने झन्झट अन्त्य भएको छ। उद्योग नविकरण, नाम वा ठाउँ सारी, संशोधन, शाखा विस्तार, पुँजी तथा क्षमता वृद्धि, उद्देश्य थप तथा लगत कट्टा जस्ता सम्पूर्ण सेवा अब उद्योग विभाग वीरगञ्जबाटै उपलब्ध हुने भएको छ।

उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले मधेस प्रदेशमा सञ्चालित १८८ वटा उद्योगका फाइलहरू उद्योग विभाग वीरगञ्जलाई हस्तान्तरण गरेसँगै सेवा विस्तारको औपचारिक सुरुवात गरिएको हो।

निमित्त महानिर्देशक रिमा साहका अनुसार उद्योग विभाग त्रिपुरेश्वरले आवश्यक कागजात वीरगञ्ज कार्यालयलाई हस्तान्तरणका लागि मन्त्रालयमा पठाएको थियो। उनका अनुसार अबदेखि २५ करोडसम्म स्थिर पुँजी भएका उद्योगहरूले आफ्नै प्रदेशमै सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ।

यसअघि यस्ता प्रशासनिक कामका लागि उद्योगी व्यवसायीहरू काठमाडौं धाउनुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थासँगै समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्