विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा, पुरानै टोलीलाई निरन्तरता

काठमाडौं, १२ असार । नेपाल क्रिकेट संघले नेदरल्यान्ड्समा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोली घोषणा गरेको छ। यसअघि अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिइएको छ।

जुलाई २१ देखि सुरु हुने शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ। त्यसअघि नेपाली टोलीले बेलायतमा तयारी गर्ने कार्यक्रम रहेको छ। साथै जुलाई १३ र १५ मा जर्सीविरुद्ध दुई अभ्यास खेल खेल्ने तालिका छ।

विश्वकप लिग–२ को शीर्ष चारभित्र स्थान बनाउन नेपालका लागि यो शृङ्खला महत्त्वपूर्ण मानिएको छ। नेपाल २८ खेलबाट २४ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ। नामिबिया २२ अङ्कसहित सातौँ तथा नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो स्थानमा छन्।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।

रिजर्भ खेलाडीका रूपमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई राखिएको छ।

प्रतिक्रिया दिनुहोस्