जर्मनीलाई हराउँदै इक्वेडर नकआउटमा, राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
काठमाडौं, १२ असार । पूर्व विश्वविजेता जर्मनीलाई २–१ गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान पक्का गरेपछि इक्वेडरमा सार्वजनिक बिदा घोषणा गरिएको छ।
जर्मनीविरुद्धको ऐतिहासिक जितपछि राष्ट्रपति डेनियल नोबोआले शुक्रबार देशभर सार्वजनिक बिदा घोषणा गर्दै नागरिकलाई राष्ट्रिय गर्व र एकताको उत्सव मनाउन आग्रह गरेका हुन्।
दक्षिण अमेरिकी छनोटमा उत्कृष्ट प्रदर्शन गरेको इक्वेडरले विश्वकपको सुरुआती चरणमा भने अपेक्षाअनुसार नतिजा निकाल्न सकेको थिएन। आइभोरी कोस्टसँग पराजित भएको टोलीले कुराकाओसँग बराबरी खेलेपछि जर्मनीविरुद्धको खेल उसका लागि निर्णायक बनेको थियो।
खेलको दोस्रो मिनेटमै गोल खाएर पछि परेको इक्वेडरले नवौँ मिनेटमा निलसन एंगुलो र ७७औँ मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै पुनरागमन जित दर्ता गरेको हो।
ऐतिहासिक जितपछि खेलाडी र प्रशिक्षक भावुक बनेका थिए। अर्जेन्टिनी प्रशिक्षक सेबास्टियन बेकासेसेले मैदानमै आफ्ना परिवारसँग खुसी साटेका थिए।
यस खेलमा ३६ वर्षीय अनुभवी खेलाडी एनर भ्यालेन्सियाले युवा खेलाडी मोइसेस काइसेडोलाई कप्तानी हस्तान्तरण गरेको दृश्य पनि विशेष आकर्षण बनेको थियो। प्रशिक्षक बेकासेसेले यसलाई टोलीको एकता र विश्वासको प्रतीकका रूपमा व्याख्या गरेका छन्।
अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रङ्गशालामा इक्वेडरका समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस जितसँगै इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अब उसले मेक्सिकोसँग प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ।







प्रतिक्रिया दिनुहोस्