सुकुमवासीहरुलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता थप
काठमाडौं, १२ असार । सरकारले सुकुमवासीहरुलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ ।
यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गरी १९ गतेको मौका दिएको हो ।
यसअघि असार ९ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरी असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो । आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोको आधारमा म्याद थपिएको जनाएको छ ।
आज जारी सूचनामा लेखिएको छ, ‘यस समितिको पूर्व सूचनाअनुसार २०८३र०३र१२ भित्रमा होल्डिङ सेन्टरहरुमा बसोबास गर्नेहरुलाई स्व व्यवस्थापन गर्न भनी जानकारी गराइएकोमा घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको भन्ने गुनासो समेतको अवस्थालाई ध्यानमा राखी २०८३र०३र१९ गतेसम्म समयसीमा थप गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
असार १५ गतेभित्र बैंक खाता नम्बरसहित निवेदन दिन आग्रह गरेको छ । सरकारले गत वैशाख १२, १३, १९ र २० गते काठमाडौं उपत्यका भित्रका नदी किनारका सुकुम्वासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिहेकाहरुलाई हटाएको थियो । त्यसपछि दशरथ रंगशालामा उनीहरुको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ ।
होल्डिङ सेन्टरमा रहेकाहरुलाई २५ हजार रुपैयाँ दिएर बिदा गर्ने तयारी छ । २५ हजार रुपैयाँ पाउनका लागि असार १५ गतेभित्र दशरथ रंगशालामा उपस्थित भई बैंक खाता नम्बरसहित निवेदन दिन भनिएको छ ।







प्रतिक्रिया दिनुहोस्