नयाँ बजेटमा माग उपेक्षित भन्दै विद्यालय कर्मचारी परिषद् आन्दोलित, शिक्षा केन्द्रमा ध्यानाकर्षण
काठमाडौं, ११ असार । नयाँ बजेटले सामुदायिक विद्यालयका कर्मचारीहरूको मागलाई बेवास्ता गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ।
परिषद्का अध्यक्ष गङ्गाराम तिवारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेलाई ध्यानाकर्षण गराउँदै बजेटप्रति असन्तुष्टि जनाएको हो।
परिषद्का अनुसार गत असार ५ गतेदेखि “पेन डाउन” (कार्य बहिष्कार) जारी छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको तलब भत्ता करिब १५ प्रतिशतसम्म वृद्धि गर्नुका साथै महँगी भत्ता समेत समायोजन गरे पनि सामुदायिक विद्यालयका कर्मचारीका विषयमा कुनै व्यवस्था नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
परिषद्ले बजेटमा आफ्ना मागहरू उपेक्षा गरिएको र श्रम तथा योगदानको अवमूल्यन भएको आरोप लगाएको छ।
यसअघि जेठ १७ गते बसेको परिषद्को भर्चुअल बैठक तथा नेपाल शिक्षक महासङ्घ र अन्य पेसागत संगठनहरूसँगको छलफलपछि आन्दोलनका थप कार्यक्रम तय गरिएको जनाइएको छ।







प्रतिक्रिया दिनुहोस्