कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई कूलर तथा ब्रेल पेपर हस्तान्तरण

काठमाडौं, १० असार । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बिर्तामोड शाखामार्फत बिर्तामोड नगरपालिका–१०, झापास्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कूलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। विद्यालयको दृष्टिविहीन छात्रावासका लागि आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको जनाएको छ।

हस्तान्तरण गरिएका कूलरले गर्मीयाममा छात्रावासभित्रको तापक्रमलाई सहज बनाई दृष्टिविहीन विद्यार्थीलाई आरामदायी वातावरणमा बस्न तथा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी, ब्रेल पेपर दृष्टिविहीन विद्यार्थीको पठनपाठनका लागि अत्यावश्यक शैक्षिक सामग्री भएकाले यसले उनीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सापकोटाले बैंकबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययन तथा छात्रावास व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश प्रमुख भुसालले शिक्षा क्षेत्रको विकास तथा समुदायको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कामना सेवा विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै समुदायसँगको सहकार्यलाई सुदृढ बनाउँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्