इराकमाथि सहज जित निकाल्दै फ्रान्स अन्तिम १६ मा
काठमाडौं, ९असार । फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा इराकलाई ३–० गोलले पराजित गर्दै फ्रान्सले एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।
फिलाडेल्फियामा भएको खेलमा फ्रान्सको जितमा केलियन एमबाप्पेले दुई गोल गरे। उनले खेलको १४औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए।
फ्रान्सका लागि अर्को गोल उसमान डेम्बेलेले ६६औँ मिनेटमा गरे। त्यसपछि थप गोल नहुँदा फ्रान्स ३–० को सहज जित निकाल्न सफल भयो।
यस जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाएको छ। फ्रान्सले पहिलो खेलमा सेनेगललाई ३–१ गोलले पराजित गरेको थियो।
फ्रान्सले अब समूह चरणको अन्तिम खेल नर्वेविरुद्ध खेल्नेछ। नर्वेले पहिलो खेलमा इराकलाई ४–१ गोलले हराएको थियो।









प्रतिक्रिया दिनुहोस्