११ महिनामा ३७ अर्ब ८३ करोड रुपैयाँको धानचामल आयात, तयारी चामलको आयात बढ्दो

काठमााडौं, ८ असार । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठ मसान्तसम्म ७ लाख ११ हजार ५ सय २० टन धानचामल विदेशबाट आयात गरिएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब ९४ करोड २८ लाख रुपैयाँ बराबरको ७ लाख ५३ हजार ३ सय ५ टन धानचामल आयात भएको थियो। यस आधारमा चालु वर्ष धानचामल आयातको परिमाण र मूल्य दुवैमा सामान्य कमी देखिएको छ।

तथ्याङ्कअनुसार कच्चा धान आयात उल्लेख्य रूपमा घटेको छ। गत वर्ष ५ लाख २१ हजार २ सय ६९ टन कच्चा धान आयात हुँदा १९ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो। चालु वर्ष भने ४ लाख ६१ हजार १ सय ८ टन कच्चा धान आयात गर्न १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ।

यद्यपि धानको बिउ आयातमा वृद्धि भएको छ। गत वर्ष १ अर्ब १६ करोड ६२ लाख रुपैयाँ बराबरको २ हजार ५ सय ७० टन बिउ आयात भएकोमा चालु वर्ष १ अर्ब २९ करोड ९४ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ९३ टन धानको बिउ आयात गरिएको छ।

बासमती चामलको आयात पनि बढेको छ। गत वर्ष ७ अर्ब २६ करोड ८४ लाख रुपैयाँ बराबरको बासमती चामल आयात भएकोमा चालु वर्ष ७ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै अन्य सामान्य चामलको आयात १० अर्ब २३ करोड ५९ लाख रुपैयाँबाट बढेर ११ अर्ब ८ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

तथ्याङ्कले स्वदेशमै धान प्रशोधन गरेर चामल उत्पादन गर्नुभन्दा विदेशबाट तयारी चामल आयात गर्ने प्रवृत्ति बढिरहेको संकेत गरेको छ।

कनिका र ब्राउन राइसको आयात पनि बढेको छ। चालु वर्ष कनिका आयात ३५ करोड १ लाख रुपैयाँ पुगेको छ भने ब्राउन राइसको आयात पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको देखिएको छ।

धानचामल आयातबाट सङ्कलन हुने राजस्व भने घटेको छ। गत वर्ष ११ महिनामा ३ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ राजस्व उठेकोमा चालु वर्ष सोही अवधिमा २ अर्ब ६१ करोड ६२ लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्