गृह मन्त्रालयद्वारा ‘हेलो गृह कल सेन्टर’ सञ्चालन, सेवा प्रवाहबारे गुनासा सिधै दर्ता गर्न सकिने

काठमााडौं, ८ असार । जिल्ला प्रशासन कार्यालयमा सेवा प्रभावकारी नभएको, प्रहरी कार्यालयले जाहेरी दर्ता गर्न आनाकानी गरेको तथा दलाल र अनियमितता बढेको गुनासाबीच गृह मन्त्रालयले सेवा निगरानी कडा बनाएको छ।

मन्त्रालयले नागरिकका गुनासा, उजुरी र सुझाव सिधै दर्ता गर्न मिल्ने गरी ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।

गृह मन्त्रालयअन्तर्गत गुनासो व्यवस्थापन शाखामार्फत सुरु गरिएको उक्त सेवाले जिल्ला प्रशासन कार्यालय, प्रहरी सेवा, तथा अन्य गृह प्रशासनसँग सम्बन्धित समस्याहरूलाई केन्द्रमा ल्याएर समाधान प्रक्रिया अघि बढाउने उद्देश्य राखेको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सेवाप्रवाहमा हुने ढिलासुस्ती, गैरजिम्मेवारी, पहुँचको दुरुपयोग, आर्थिक चलखेल तथा दलाल गतिविधिबारे नागरिकले सिधै उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै, गृहमन्त्रीको सचिवालयको नाम प्रयोग गरी धम्की दिने वा दबाब सिर्जना गर्ने व्यक्तिविरुद्ध पनि उजुरी गर्न सकिने मन्त्रालयले जनाएको छ।

सेवाग्राहीले टोल–फ्री नम्बर १११२, इमेल [email protected], मोबाइल तथा ह्वाट्सएप नम्बर ९८५१३६०६०३ मार्फत गुनासा तथा सुझाव पठाउन सक्नेछन्। साथै क्युआर कोड स्क्यान गरी अनलाइनमार्फत समेत उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

गृह मन्त्रालय ले नागरिकका गुनासा र सुझावलाई सेवा सुधार र सुशासन सुदृढीकरणको आधारका रूपमा लिँदै उपलब्ध माध्यमहरूको अधिकतम उपयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्