सडकपेटीमा जीविकोपार्जन रोकिएको भन्दै दृष्टिविहीनहरूको माइतीघरमा धर्ना
काठमााडौं, ८ असार । सडकपेटी, मठमन्दिर र चोकहरूमा बसेर जीविकोपार्जन गर्न नपाएको भन्दै सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूह आन्दोलनमा उत्रिएको छ।
सोमबार माइतीघर मण्डलामा भेला भएका उनीहरूले काठमाडौँ महानगरपालिका र सरकारविरुद्ध धर्ना सुरु गर्दै नगर प्रहरीद्वारा गरिएको धरपकड र हटाउने कार्यको विरोध गरेका हुन्।
समूहका संयोजक सुदीप ओलीका अनुसार विकल्प नदिई सडकबाट हटाउने, होल्डिङ सेन्टरमा राख्ने र साँझ छोड्ने जस्ता गतिविधिले आफूहरूलाई समस्यामा पारेको छ। उनले नगर प्रहरीले दमन गरेको आरोप लगाउँदै महिलामाथि समेत दुर्व्यवहार भएको दाबी गरे।
“हामीले धुप बेच्ने, वेट मेसिन राख्ने, गीत गाएर वा सहयोग संकलन गरेर गुजारा गर्दै आएका थियौँ,” ओलीले भने, “तर अहिले बालेन सरकारले त्यो पनि गर्न दिएको छैन।”
प्रदर्शनकारीहरूले राज्यसँग आफूहरूलाई जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था, रोजगारी वा मासिक २० हजार रुपैयाँ बेरोजगार भत्ताको माग गरेका छन्। साथै योग्य दृष्टिविहीनलाई सीपअनुसार रोजगारी र अन्यलाई सामाजिक सुरक्षा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
उनीहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म दैनिक माइतीघर मण्डलामा धर्ना जारी राख्ने चेतावनी दिएका छन्।









प्रतिक्रिया दिनुहोस्