निसर्ग वारियर्स बास्केटबल लिग २०२६ को उपाधि पुष्पसदन स्कुललाई

काठमााडौं, ८ असार ।  युवा खेल प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजित ‘प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६’ को उपाधि पुष्पसदन सेकेण्डरी स्कुलले जितेको छ।

राजधानीका विभिन्न विद्यालयबीच भएको प्रतिस्पर्धात्मक प्रतियोगितामा राराहिल मेमोरियल स्कुल दोस्रो र स्वर्णिम स्कुल तेस्रो स्थानमा रहन सफल भए।

प्रतियोगितामा एलआरआई स्कुलका सुजल मदाईले सर्वाधिक १४५ अंक जोड्दै ‘टप स्कोरर’को उपाधि जिते भने पुष्पसदन स्कुलका मात्रिका बुढाथोकी ‘मोस्ट भ्यालुएबल प्लेयर (MVP)’ घोषित भए।

निसर्ग बाटिका स्कुलको आयोजनामा सम्पन्न प्रतियोगिताले नेपाली बास्केटबलको भविष्यका लागि युवा खेलाडीलाई अवसर सिर्जना गर्ने उद्देश्य राखेको विद्यालयकी प्रधानाध्यापक मोनिका प्रधानले बताइन्। उनका अनुसार यस्ता प्रतियोगिताले विद्यालयहरूबीच आपसी सम्बन्ध, सम्मान र सहकार्यलाई समेत मजबुत बनाउने अपेक्षा गरिएको छ।

राष्ट्रिय बास्केटबल टोलीका प्रशिक्षक बिकुलाल महर्जनले प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास र खेलप्रतिको लगाव बढाउने भन्दै भविष्यका लागि सक्षम खेलाडी उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

माछागेटस्थित निसर्गको बास्केटबल कोर्ट तथा हाई स्कुल बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, खेल कौशल अभिवृद्धि गर्ने तथा प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर दिएको अतिरिक्त क्रियाकलाप प्रमुख सुदिपराज भण्डारीले बताए।

गत जेठ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक निसर्ग बाटिका, न्यु जेथिन इंग्लिस स्कुल, एलआरआई स्कुल, भ्याली भ्यु स्कुल, स्वर्णिम स्कुल, हिलटाउन स्कुल, राराहिल मेमोरियल स्कुल र पुष्पसदन स्कुल सहभागी थिए। प्रतियोगिता राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्