९२ वर्षको प्रतीक्षापछि इजिप्टको ऐतिहासिक विश्वकप जित, न्युजिल्याण्ड ३–१ ले पराजित

काठमााडौं, ८ असार । इजिप्टले विश्वकप इतिहासमा पहिलो पटक जित हासिल गर्दै ९२ वर्ष लामो प्रतीक्षाको अन्त्य गरेको छ। न्युजिल्याण्डविरुद्ध ३–१ को शानदार पुनरागमन जित दर्ता गर्दै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

इजिप्टका स्टार खेलाडी मोहम्मद सलाहले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। मोस्टाफा जिकोले पनि एक गोल र एक असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे।

खेलको १५औँ मिनेटमा टिम पेनको कर्नरमा फिन सुरम्यानले हेडमार्फत गोल गर्दै न्युजिल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता जोगाएको न्युजिल्याण्ड दोस्रो हाफमा भने इजिप्टको दबाब सामना गर्न असफल रह्यो।

प्रशिक्षक होसाम हसानले रणनीतिमा परिवर्तन गरेपछि इजिप्टले दोस्रो हाफमा खेलको नियन्त्रण आफ्नो पक्षमा पार्यो। ५८औँ मिनेटमा मोहम्मद हानीको क्रसमा मोस्टाफा जिकोले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि सलाह र जिकोबीचको आकर्षक पास आदानप्रदानपछि सलाहले उत्कृष्ट गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए। खेलको ८२औँ मिनेटमा सलाहकै कर्नरमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी ट्रेजेगुएले हेडमार्फत गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे।

यो इजिप्टको चौथो विश्वकप सहभागितामा प्राप्त पहिलो जित हो। अब आगामी शनिबार इरानविरुद्ध हुने खेलमा जित निकाले इजिप्ट समूह विजेता बन्नेछ। यता, न्युजिल्याण्डका लागि भने प्रतियोगितामा अघि बढ्न बेल्जियमविरुद्धको अन्तिम खेल जित्नै पर्ने दबाब सिर्जना भएको छ।

न्युजिल्याण्डले हार बेहोरे पनि खेलभरि संघर्षपूर्ण प्रदर्शन गरेको थियो र उसको नकआउट चरणमा पुग्ने सम्भावना अझै समाप्त भएको छैन। इजिप्टका लागि भने यो जित विश्वकप इतिहासकै सबैभन्दा स्मरणीय उपलब्धिमध्ये एक बनेको छ।

प्रतिक्रिया दिनुहोस्