सिरहामा रिक्सा चालकको मृत्युपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक रिक्सा चालकको उपचारका क्रममा मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन्। उनीहरूले शवसहित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

धनगढीमाई नगरपालिका–१० का ४५ वर्षीय कृष्णकुमार महतो को शनिबार उपचारका क्रममा मृत्यु भएपछि आइतबार उनका आफन्त तथा स्थानीयले शव बोकेको एम्बुलेन्स सडकमा तेर्स्याएर राजमार्ग अवरुद्ध गरेका हुन्।

स्थानीयका अनुसार महतो सिटी रिक्सा चलाउँदै जीविकोपार्जन गर्दै आएका थिए। शुक्रबार साँझ दही किन्न सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते अवस्थामा उनलाई स्थानीय उपचारपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने मोटरसाइकल चालक घटना पछि फरार रहेको भन्दै स्थानीयले तत्काल पक्राउ गरी कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति र न्यायको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार अवरुद्ध राजमार्ग खुलाउन प्रहरी टोली परिचालन गरिएको छ भने पीडित पक्षसँग वार्ता भइरहेको छ। फरार चालकको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।

राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम राजमार्गमा दुवैतर्फ लामो सवारी जाम लागेको छ। घटनास्थलमा प्रहरी र स्थानीयबीच वार्ता जारी छ र सडक सञ्चालन गराउने प्रयास भइरहेको छ। साथै स्थानीयले बजार क्षेत्रमा सीसीटीभी जडान गर्न मागसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्