स्पट फिक्सिङ आरोपबीच एली वाहीलाई क्यानडा प्रवेश अनुमति, विश्वकप खेल्ने बाटो खुला
काठमाडौं, असार ५ — आइभोरी कोस्टका अन्तर्राष्ट्रिय फुटबल खेलाडी एली वाही लाई क्यानडा प्रवेशको अनुमति दिइएको छ। यससँगै उनले शनिबार जर्मनीविरुद्ध हुने विश्वकप समूह चरणको खेल खेल्न पाउने भएका छन्।
यसअघि कानुनी झमेलाका कारण उनलाई क्यानडाले रोक लगाएको थियो। तर पछिल्लो निर्णयपछि उनलाई अस्थायी रूपमा देश प्रवेश अनुमति दिइएको हो।
२३ वर्षीय स्ट्राइकर वाहीमाथि फ्रान्सको लिग वान क्लब नाइसबाट खेल्दा सट्टेबाजी (स्पट फिक्सिङ) मा संलग्न भएको आरोप छ। उनीमाथि गत मे महिनामा मेजविरुद्धको खेलमा जानीजानी पहेँलो कार्ड लिएको र त्यसबाट सट्टेबाजी बजारमा आर्थिक लाभ उठाउन सहयोग गरेको दाबी गरिएको छ।
उक्त विषयमा अनुसन्धानका लागि उनलाई गत महिना पक्राउसमेत गरिएको थियो।
‘स्पट फिक्सिङ’ भनेको खेलको समग्र नतिजा नबदली, खेलभित्रका साना घटनाहरू—जस्तै कार्ड, कर्नर वा फाउल—लाई मिलेमतोमा प्रभावित पारेर सट्टेबाजीबाट लाभ उठाउने कार्य हो।
यसअघि आइभोरी कोस्ट फुटबल संघले वाहीलाई क्यानडा जान अनुमति नपाएको जनाएको थियो। तर बिहीबार ढिलो गरी उनलाई प्रवेश अनुमति प्राप्त भएको पुष्टि गरिएको हो।
यसअघि घानाका खेलाडी थोमस पार्टी लाई भने क्यानडाले प्रवेश अनुमति दिएको थिएन, किनकि उनीमाथि बेलायतमा बलात्कारका गम्भीर आरोपहरू लागेका थिए।
क्यानडाको अध्यागमन विभागले भने आफ्ना नियम कडा भए पनि विशेष परिस्थितिमा अस्थायी बसोबास अनुमति दिन सकिने स्पष्ट पारेको छ।









प्रतिक्रिया दिनुहोस्