फिफा विश्वकप २०२६ : मेक्सिको अन्तिम १६ मा पुग्ने पहिलो टोली

काठमाडैं, असार ५, फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिको जारी प्रतियोगिताको अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ।

शुक्रबार बिहान भएको समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण कोरियालाई १–० गोलले पराजित गर्दै मेक्सिकोले एक खेल अगावै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

ग्वाडलाजारा रङ्गशालामा भएको खेलमा लुइस लोरोले ५०औँ मिनेटमा गरेको एकमात्र गोल नै मेक्सिकोको जितका लागि निर्णायक बन्यो।

यस जितसँगै मेक्सिकोले लगातार दोस्रो जित दर्ता गर्दै ६ अंक जोडेको छ। यसअघि पहिलो खेलमा उसले दक्षिण अफ्रिकालाई २–० गोलले हराएको थियो। मेक्सिकोको समूह चरणको अन्तिम खेल चेक गणतन्त्रसँग हुनेछ।

पराजित दक्षिण कोरियाको भने अघिल्लो चरणमा पुग्ने सम्भावना कायम रहेको छ। दक्षिण कोरियाले पहिलो खेलमा चेक गणतन्त्रलाई २–१ गोलले पराजित गरेको थियो र हाल उसको ३ अंक छ। अब उसले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

समूहका अन्य टोली दक्षिण अफ्रिका र चेक गणतन्त्रले बराबरी खेल्दै एक–एक अंक जोडेका छन्। दुवै टोलीको एक–एक खेल बाँकी रहेकाले अघिल्लो चरणमा पुग्ने सम्भावना अझै जीवित छ।

मेक्सिको सन् २०१८ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो भने सन् २०२२ को संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो। यसपटक घरेलु समर्थकको साथ पाएको मेक्सिकोले भने प्रतियोगितामा सुखद सुरुआत गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्