विश्वकप २०२६ मा एमबाप्पे, हालान्ड र मेसी चम्किए; रोनाल्डोको पोर्चुगल बराबरीमा रोकियो

काठमााडौं , ४ असार ।  फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार विश्व फुटबलका तीन सुपरस्टारहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका छन्।

फ्रान्सका स्टार खेलाडी किलियन एमबाप्पे ले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो देशका लागि सर्वाधिक गोलकर्ता बनेका छन्। दोस्रो हाफमा पुनः लयमा फर्किएका उनले निर्णायक प्रदर्शन गर्दै फ्रान्सलाई जिततर्फ अग्रसर बनाए।

त्यस्तै नर्वेका स्ट्राइकर अर्लिङ हालान्ड ले इराकविरुद्ध दुई गोल गर्दै विश्वकप डेब्यूलाई यादगार बनाएका छन्। लामो समय विश्वकप खेल्न नपाएको पीडा बिर्साउने गरी उनले उत्कृष्ट प्रदर्शन गरेका हुन्।

अर्जेन्टिनाका कप्तान लिओनेल मेसी ले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान बराबरी गरेका छन्। उनले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्‍याएका छन्।

तर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो का लागि भने खेल सुखद रहेन। प्रजातान्त्रिक गणतन्त्र कंगोविरुद्ध पोर्चुगल १–१ को बराबरीमा रोकिँदा रोनाल्डोले अपेक्षित प्रभाव पार्न सकेनन्।

६ फरक विश्वकपमा गोल गर्ने कीर्तिमान बनाउने अवसर नजिक पुगेका रोनाल्डो खेलभर दबाबमा देखिए। खेलमा ४१ वर्ष १३२ दिनको उमेरमा सुरुवाती एघारमा खेल्दै उनी विश्वकप इतिहासकै सबैभन्दा पाका आउटफिल्ड खेलाडी पनि बनेका छन्।

विशेषज्ञहरूले उनको केही निर्णय र प्रदर्शनबारे आलोचना गरे पनि पोर्चुगलको समग्र प्रदर्शन अपेक्षाअनुसार हुन सकेन। खेलमा पोर्चुगलले बल नियन्त्रणमा राखे पनि गोलमा परिणत गर्न सकेन।

यससँगै विश्वकप २०२६ मा शीर्ष खेलाडीहरूको प्रदर्शनले प्रतियोगिताको प्रतिस्पर्धा अझै तीव्र बनेको छ।

प्रतिक्रिया दिनुहोस्