नेपाली आप्रवासी कामदारको हक अधिकार सुनिश्चित गर्न माग
काठमाडौँ, ४ असार। कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी कामदारको हक अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ।
आप्रवासी कामदारको एचआईभी एड्स तथा प्रजनन स्वास्थ्य संजाल नेपालद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले आप्रवासी कामदारहरूलाई कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्ने विषयमा तीन तहका सरकारबीच समन्वयको खाँचो रहेको बताउनुभयो।
वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्य अवस्था, सामाजिक सुरक्षा, सीप विकास, तथा उद्धारका काम राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै सभापति बाँस्कोटाले आप्रवासी कामदारको हक, अधिकार र सुरक्षा सुनिश्चित गर्न सबै पक्षले एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि प्रतिबद्धता व्यक्त गर्दै विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार तथा सकुशल फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभयो।
संजालका महासचिव बालकृष्ण गैरेले खुला सिमानाका कारण भारतमा जाने नेपाली कामदारको रेकर्ड नरहेको भन्दै उनीहरूमाथि शोषण, न्यून पारिश्रमिक र स्वास्थ्य असुरक्षाका समस्या समाधान तथा जोखिममा रहेका श्रमिकको तत्काल उद्धार र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको न्यूनतम तलबको ग्यारेन्टी, सुलभ प्रक्रिया, भिसा र टिकट, तथा पूर्ण बिमाको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन सरकारले गन्तव्य मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता गर्नुपर्नेमा जोड दिनुभयो।









प्रतिक्रिया दिनुहोस्