एक्सन नेपालद्वारा उत्कृष्ट तीन कृषक सम्मानित

काठमाडौं, ३ असार । धादिङमा एक्सन नेपालद्वारा कृषि तथा पशु मूल्य शृङ्खलामा नवीनता परियोजना अन्तर्गत उत्कृष्ट कृषक छनोट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

एक्सन नेपालका अध्यक्ष कमला कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नगर उपप्रमुख दीपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, हेफर इन्टरनेसनल नेपालका कृषि बजार विकास प्रमुख डा। राजकुमार अधिकारी तथा विभिन्न वडाका जनप्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको थियो।

नीलकण्ठ नगरपालिका, हेफर इन्टरनेसनल नेपाल र एक्सन नेपालको सहकार्यमा सञ्चालित परियोजनाअन्तर्गत २५ जना कृषि उद्यमीमध्ये प्रारम्भिक चरणमा १० जना कृषक छनोट गरि उनीहरूले आफ्नो कृषि व्यवसायसम्बन्धी अनुभव, संघर्ष र सफलताका कथाहरू प्रस्तुत गरेका थिए। मूल्याङ्कनका आधारमा रोशिका गुरुङ प्रथम, रामकुमार श्रेष्ठ द्वितीय र बुद्धिप्रसाद बुर्लाकोटी तृतीय घोषित भएका हुन्। विमला कोइरालाले चौथो स्थान हासिल गर्नुभएको थियो।  तीन कृषकलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। चौथो स्थान प्राप्त विमला कोइरालालाई ग्लोबल आईएमई बैंकको तर्फबाट १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले कृषि क्षेत्रको व्यवसायीकरण, वित्तीय पहुँच विस्तार तथा कृषकको उत्पादनलाई स्थानीय बजारबाट राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक सहकार्य र सहजीकरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। यसले किसानलाई प्रोहत्सान भएको छ ।

प्रतिक्रिया दिनुहोस्