पाँच विश्वकपमा गोल गर्ने कीर्तिमानमा मेसी, रोनाल्डोको बराबरी

काठमाडौं, असार ३ — अर्जेन्टिनाका कप्तान लिओनल मेसी ले विश्वकप फुटबल २०२६ अन्तर्गत अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

अल्जेरियाविरुद्धको खेलमा तीन गोल गरेका मेसी पुरुष फुटबल इतिहासमा पाँच फरक विश्वकप संस्करणमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान केवल क्रिस्टियानो रोनाल्डो को नाममा रहेको थियो।

मेसीले सन् २००६, २०१४, २०१८, २०२२ र २०२६ का विश्वकपमा गोल गरेका छन्। उनले आफ्नो पहिलो विश्वकप गोल गरेको ठीक २० वर्षपछि पाँच विश्वकपमा गोल गर्ने दुर्लभ उपलब्धि हासिल गरेका हुन्। मेसीले सन् २००६ मा सर्बिया र मोन्टेनेग्रोविरुद्ध पहिलो विश्वकप गोल गरेका थिए।

रोनाल्डोले सन् २०२२ को विश्वकपमा घानाविरुद्ध गोल गर्दै पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडीको कीर्तिमान बनाएका थिए। उनले २००६, २०१०, २०१४, २०१८ र २०२२ संस्करणमा गोल गरेका छन्।

विश्वकप गोल सङ्ख्यामा भने मेसी रोनाल्डोभन्दा अगाडि छन्। मेसीको नाममा विश्वकपमा १६ गोल रहेको छ भने रोनाल्डोले ८ गोल गरेका छन्।

अब फुटबल समर्थकहरूको ध्यान रोनाल्डोतर्फ केन्द्रित भएको छ। पोर्चुगलले बुधबार कंगोविरुद्ध खेल्दै छ। उक्त खेलमा रोनाल्डोले गोल गर्न सफल भएमा उनी छ फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्नेछन्।

प्रतिक्रिया दिनुहोस्