नेपालको विकासमा बंगलादेशका असल अभ्यास उपयोगी हुन सक्छन् : सभामुख अर्याल

काठमाडौं, असार ३ — सभामुख डोलप्रसाद अर्याल ले नेपालको विकास यात्रामा बंगलादेशका सफल अनुभव र असल अभ्यासहरू उपयोगी हुन सक्ने बताएका छन्।

नेपालका लागि मो. शफिकुर रहमान सँग भएको भेटवार्ताका क्रममा सभामुख अर्यालले नेपाल–बंगलादेश सम्बन्ध आपसी सम्मान, विश्वास र समानतामा आधारित रहेको उल्लेख गर्दै दुई देशबीचको सहकार्यलाई नेपालले उच्च महत्व दिएको बताए।

उनले बंगलादेशमा जनादेशमार्फत गठन भएको सरकारलाई शुभकामना व्यक्त गर्दै जनताको सेवा, विकास र समृद्धिका लागि सफल कार्यकालको कामना गरे। साथै नेपालमा पनि निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै दुवै देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।

सभामुख अर्यालले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। उनले फुटबल, क्रिकेट र भलिबलजस्ता खेलकुद गतिविधिले दुई देशका युवाबीच मित्रता र समझदारी बढाएको पनि बताए।

भेटमा जलवायु परिवर्तन, प्राकृतिक विपद्, क्षेत्रीय सहकार्य तथा आर्थिक विकासका विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले हिमाली क्षेत्र र समुद्री तटीय क्षेत्रमा देखिएका वातावरणीय चुनौती दुवै देशका साझा सरोकारका विषय भएको उल्लेख गरे।

राजदूत रहमानले नेपाल र बंगलादेशले विकास, जलवायु परिवर्तन तथा प्राकृतिक विपद्सम्बन्धी समान चुनौतीहरू सामना गरिरहेको बताउँदै ती समस्याको समाधानका लागि अनुभव आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

उनले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा जनस्तरको सम्बन्ध विस्तार गर्न बंगलादेश सकारात्मक रहेको उल्लेख गर्दै दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस्