नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता
काठमाडौं, असार ३ — नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेड बीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ।
बुधबार भएको सम्झौतामा कोषका तर्फबाट निर्देशक नवराज खड्का र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष र अतिरिक्त अवकाश कोषको व्यवस्थापन तथा कार्यान्वयन अब नागरिक लगानी कोषले गर्नेछ।
कोषले कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त विवरणअनुसार खाता अद्यावधिक गर्ने तथा सेवानिवृत्त कर्मचारीहरूलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने व्यवस्था गर्नेछ।
त्यसैगरी कर्मचारीले कोषमा गरेको योगदानबाट प्राप्त ब्याज, प्रतिफल तथा अन्य सुविधाहरू कोषको नियमअनुसार प्रदान गरिने सम्झौतामा उल्लेख छ।
सम्झौता अनुसार आयकर ऐन, २०५८ अनुसार स्वीकृत अवकाश कोषमा रहेको रकम तथा बाँकी कर्जा समेतलाई कोषमा स्थानान्तरण गरी समायोजन गरिने व्यवस्था गरिएको छ।





प्रतिक्रिया दिनुहोस्