आठौँ पाँचपोखरी क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी क्रिकेट क्लबलाई

काठमाडौं २, असार। आठौँ पाँचपोखरी क्रिकेट प्रतियोगिता २०२६ को उपाधि घरेलु टोली पाँचपोखरी क्रिकेट क्लबले जितेको छ।

मंगलबार तल्लो मुलपानी मैदानमा भएको फाइनल खेलमा हेलम्बु नगरपालिकालाई ५ विकेटले पराजित गर्दै पाँचपोखरी च्याम्पियन बनेको हो।

१२२ रनको लक्ष्य पाँचपोखरीले ५ बल बाँकी रहँदै पूरा गरेको थियो। टोलीका ओपनर सार्थक धितालले २३ रनको योगदान दिए भने बुद्धिमान पाख्रिनले नटआउट ५७ रन बनाए। उनले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

हेलम्बुका लागि सचिन लेखकले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हेलम्बुले ६ विकेटको क्षतिमा १२१ रन बनाएको थियो। टोलीका शिभम् तिवारीले नटआउट ६८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। उनले ५१ बलमा २ चौका र ५ छक्का प्रहार गरेका थिए। सचिन लेखकले ३५ रनको योगदान दिए।

पाँचपोखरीका लागि बलिङमा मनोज खड्काले ३ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच पाँचपोखरीका बुद्धिमान पाख्रिन घोषित भए।

प्रतियोगितामा हेलम्बुका सचिन लेखक सर्वाधिक ४४५ रनसहित शीर्ष स्कोरर बने। बलिङतर्फ मनोज खड्का र प्रतिक श्रेष्ठले समान ९–९ विकेट लिए।

हेलम्बुका लेखकले एक इनिङमा २०९ रनको उत्कृष्ट प्रदर्शन गरेका थिए।

सिन्धुपाल्चोक जिल्लाका सात टोलीको सहभागितामा सम्पन्न प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब, हेलम्बु नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, थाङपाल भ्याली, मेलम्ची नगरपालिका, पाँचपोखरी हिमालयन क्रिकेट क्लब र साँगाचोक युथ क्लब सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्