निर्वाचनको लागि सुरक्षा व्यवस्था पुराः गृह मन्त्रालय

काठमाडौं । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना  कार्यान्वयनमा आवश्यक सुरक्षा व्यवस्था पुरा भएको  गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए ।

पहिलो चरणमा ३२ जिल्लामा प्रचिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि ३२ लाख २८ हजार ८७९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपछिको गरी तीन तहको निर्वाचन सुरक्षा योजना बनेको छ, प्रवक्ता दुवाडीले भने, “निर्वाचनपूर्व खबर संकलन, कमाण्ड पोष्ट स्थापना, राजनीतिक दलसँगको समन्वय, मतदानस्थलको सुरक्षा व्यवस्थालगायतका निर्वाचन पूर्व तयारीका काम लगभग सकिएको छ ।”प्रवक्ता दुवाडीका अनुसार पहिलो चरणमा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिनुभयो । नेपाली सेनालाई भने आवश्यकताअनुसार परिचालन गरिनेछ ।

यो बाहेक पनि आवश्यक परेको खण्डमा थप जनशक्ति परिचालन गर्ने गरी विभिन्न ठाउँमा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । निर्वाचनका लागि ९८ हजार म्यादी प्रहरी भर्ना गरिएकोमा पहिलो चरणमा २३ हजार ५०० म्यादी प्रहरी खटिने छन् । निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ ।

मतदान केन्द्रको अवस्था हेरेर सुरक्षाकर्मी खटाउने तयारी भइरहेको प्रवक्ता दुवाडीले जागरण न्युजलाई जानकारी दिए । सामान्य मतदानस्थलमा प्रहरी र म्यादी प्रहरी गरेर आठ जना, संवेदनशील मतदान केन्द्रमा ११ र अतिसंवेदनशील मतदान केन्द्रमा १५ जनाका दरले प्रहरी र म्यादी प्रहरी परिचालन गरिने छ ।

केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा केन्द्रीय सुरक्षा योजना र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनेको छ । सोहीअनुसार सुरक्षा निकाय परिचालन हुनेछन् । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिन सक्नेतर्फ ध्यान दिँदै भारत र चीनतर्फका सीमामा सुरक्षाजाँचमा कडाइ गरिएको  जनाएको छ । आवश्यकताअनुसार विभिन्न नाकामा तालीम प्राप्त कुकुरको परिचालनको समेत वयवस्था गरिएको छ ।

निर्वाचनमा सुरक्षा निकायलाई आवश्यकताअनुसार परिचालन गर्न मतदानको केही दिनअघिदेखिनै विभिन्न स्थानमा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिनेछ  गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्