विश्वकप २०२६ : अर्जेन्टिना–अल्जेरिया भिडन्त, सबैको नजर मेसीतर्फ
काठमाडौं २, असार। साविक विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अल्जेरियासँग प्रतिस्पर्धा गर्दा सम्पूर्ण ध्यान सुपरस्टार लियोनल मेसीतर्फ केन्द्रित हुने भएको छ।
समूह ‘जे’ अन्तर्गतको खेल नेपाली समयअनुसार मंगलबार बिहान ६ः४५ बजे हुनेछ। विश्व फुटबलका सर्वाधिक प्रभावशाली खेलाडीमध्ये एक मानिने मेसीको उपस्थिति यस खेलको मुख्य आकर्षण बनेको छ।
अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताउने कप्तानका रूपमा परिचित मेसी मैदानमा ‘जादुगर’ शैलीको खेल प्रदर्शन गर्ने खेलाडीका रूपमा चिनिन्छन्। यस खेलसँगै उनी लगातार ६ विश्वकप खेल्ने विश्वकै पहिलो खेलाडी बन्ने कीर्तिमान नजिक पुगेका छन्।
त्यसैगरी, विश्वकप इतिहासमा सर्वाधिक २६ खेल खेलेका मेसीले अल्जेरियाविरुद्धको खेलपछि २७औँ विश्वकप खेल पूरा गर्नेछन्। यो खेलसँगै उनले अर्जेन्टिनाका लागि आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पनि पूरा गर्नेछन्, जुन उपलब्धि हासिल गर्ने उनी पहिलो खेलाडी हुनेछन्।
पछिल्लो समय ह्यामस्ट्रिङ समस्याका कारण सीमित अभ्यास खेल खेलेका मेसीलाई विश्वकपका लागि विशेष तयारीमा राखिएको थियो। विश्वकपअघि भएको मैत्रीपूर्ण खेलमा पनि उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेका थिए।
प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिना पछिल्लो समय उत्कृष्ट लयमा छ। विश्वकप छनोट चरणमा दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा रहँदै अर्जेन्टिनाले १८ खेलमा ३८ अंक जोडेको थियो। मेसीले छनोटमा ८ गोल गरेका थिए।
छनोटपछिका सात मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सबै खेल जित्दै २१ गोल गरेको थियो भने केवल एक गोल मात्र व्यहोरेको थियो।
अर्जेन्टिनाले अफ्रिकी राष्ट्रहरूसँग खेलेका पछिल्ला ६ खेलमा लगातार जित हासिल गरेको छ। तर सन् २०२२ विश्वकपमा पहिलो खेलमै साउदी अरेबियासँग भोगेको अप्रत्याशित हारलाई स्मरण गर्दै यसपटक टोली कुनै पनि लापरबाही नगर्ने तयारीमा छ।
उता अल्जेरिया आफ्नो पाँचौँ विश्वकप सहभागिता गर्दैछ। सन् २०१४ मा नकआउट चरणसम्म पुगेको टोली त्यसपछि दुई संस्करणमा छनोट हुन सकेको थिएन। यसपटक समूह विजेता बनेर अल्जेरिया पुनः विश्वमञ्चमा फर्किएको छ।
छनोट चरणमा अल्जेरिया उच्च गोल गर्ने टोलीमध्ये एक बनेको थियो। स्ट्राइकर मोहम्मद अमौराले १० गोल गर्दै प्रतियोगिताका उत्कृष्ट खेलाडीमध्ये स्थान बनाएका थिए।
प्रशिक्षक भ्लादिमिर पेट्कोभिचको नेतृत्वमा रहेको अल्जेरिया पनि राम्रो लयमा छ। विश्वकपअघि खेलेका चार मैत्रीपूर्ण खेलमध्ये तीनमा जित निकालेको टोलीले नेदरल्यान्ड्सलाई समेत पराजित गरेको थियो।
अर्जेन्टिना र अल्जेरिया अहिलेसम्म एकपटक मात्र भिडेका छन्। सन् २००७ मा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ४–३ को जित निकालेको थियो, जहाँ मेसीले दुई गोल गरेका थिए।
यस खेलमा अर्जेन्टिनाबाट जुलियन अल्भारेजसहित नयाँ पुस्ताका खेलाडीहरू निको पाज, थियागो अल्माडा, भ्यालेन्टिन बार्को, जुलियानो सिमियोनी र जोस म्यानुएल लोपेज पनि पहिलो पटक विश्वकपमा देखिने अपेक्षा गरिएको छ।
गोलकिपर एमिलियानो मार्टिनेज चोटमुक्त भएका छन् भने लियान्द्रो पेरेडेस र निकोलस गोन्जालेज उपलब्ध हुने सम्भावना छ। यद्यपि निकोलस टाग्लियाफिको घाइते रहेका छन्।
अल्जेरियाका लागि कप्तान रियाद महरेज र स्ट्राइकर मोहम्मद अमौरा प्रमुख खेलाडीका रूपमा हेरिएका छन्।
यसै समूहको अर्को खेलमा अस्ट्रिया र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ। जोर्डन पहिलो पटक विश्वकपमा सहभागी भएको टोली हो।





प्रतिक्रिया दिनुहोस्