विश्वकपमा लज्जास्पद हारपछि ट्युनिसियाका मुख्य प्रशिक्षक बर्खास्त
काठमाडौं २, असार। विश्वकप २०२६ को पहिलो खेलमै भारी हार बेहोरेपछि ट्युनिसियाले मुख्य प्रशिक्षक साबरी लामौचीलाई पदबाट हटाएको छ।
मेक्सिकोको मोन्टेरेस्थित एस्टाडियो मोन्टेरेमा आइतबार भएको समूह ‘एफ’ को खेलमा स्विडेनले ट्युनिसियालाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको थियो। उक्त हारपछि लामौचीलाई बर्खास्त गरिएको प्रारम्भिक हल्ला चले पनि उनले सोमबार टोलीको प्रशिक्षण भने सम्हालेका थिए।
तर ट्युनिसियाली फुटबल संघले अन्ततः “आपसी सहमति” मा लामौचीसँगको सम्झौता समाप्त गरिएको पुष्टि गरेको छ।
लामौचीको स्थानमा मोरक्को र साउदी अरबका पूर्व प्रशिक्षक हर्भ रेनार्डलाई प्रतियोगिता अवधिभरका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको छ।
विश्वकप इतिहासमा पहिलो खेलपछि नै कुनै प्रशिक्षक बर्खास्त गरिएको यो पहिलो घटना भएको बताइएको छ। यसअघि सन् १९९८ मा ट्युनिसियाले दुई खेलपछि प्रशिक्षक परिवर्तन गरेको थियो भने दक्षिण कोरियाले पनि दुई खेलपछि प्रशिक्षक हटाएको थियो।
लामौचीको पाँच महिनाको कार्यकाल निराशाजनक रह्यो। उनले ट्युनिसियाका लागि पाँच खेलमध्ये केवल एक खेलमा जित निकाल्न सके, जुन हाइटीविरुद्ध १–० को जित थियो। विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ट्युनिसिया बेल्जियमसँग ५–० ले पराजित भएको थियो।
हारपछि प्रतिक्रिया दिँदै लामौचीले भनेका थिए, “यति ठूलो हारबाट प्रतियोगिता सुरु गर्नु निकै पीडादायी हो। हामीले धेरै गल्ती गर्यौँ, जसले गर्दा हामी आफैँलाई नै क्षति पुर्यायौँ।”





प्रतिक्रिया दिनुहोस्