उपाधि रक्षा अभियानमा अर्जेन्टिना, पहिलो खेलमा अल्जेरियासँग प्रतिस्पर्धा

काठमाडौं  २, असार । साविक विश्व विजेता अर्जेन्टिनाले बुधबार विश्वकप फुटबल प्रतियोगितामा आफ्नो उपाधि रक्षा अभियानको सुरुआत गर्दै अल्जेरियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

समूह ‘जे’ अन्तर्गतको खेल अमेरिकाको कन्सास रंगशालामा नेपाली समयअनुसार बुधबार बिहान ६ः४५ बजे हुनेछ। अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको छ भने अल्जेरियाले इतिहासमै दोस्रो पटक अन्तिम १६ मा स्थान बनाउने लक्ष्य राखेको छ।

अर्जेन्टिनाका लागि यो लगातार १४औँ विश्वकप सहभागिता हो। प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको टोलीले दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थान हासिल गर्दै विश्वकप यात्रा तय गरेको थियो। छनोट चरणमा अर्जेन्टिनाले चिरप्रतिद्वन्द्वी ब्राजिललाई ४–१ ले पराजित गरेको थियो।

अर्जेन्टिनाले १८ खेलबाट ३८ अंक जोडेको थियो। कप्तान लियोनेल मेसी आठ गोलसहित टोलीका सर्वाधिक गोलकर्ता बनेका थिए। छनोटपछि खेलेका सात मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सबै खेल जित्दै २१ गोल गरेको थियो भने केवल एक गोल मात्र व्यहोरेको थियो।

अर्जेन्टिनाले अफ्रिकी राष्ट्रविरुद्ध पछिल्ला छ खेलमा लगातार सफलता हासिल गरेको छ। तर अघिल्लो विश्वकपमा पहिलो खेलमै साउदी अरेबियासँग भोगेको अप्रत्याशित हारलाई स्मरण गर्दै अर्जेन्टिनाले अल्जेरियालाई कमजोर आँक्ने अवस्था छैन।

दुवै टोलीबीच अहिलेसम्म एकपटक मात्र भेट भएको छ। सन् २००७ मा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ४–३ को जित निकालेको थियो। उक्त खेलमा मेसीले दुई गोल गरेका थिए।

विश्व वरीयताको २८औँ स्थानमा रहेको अल्जेरिया पाँचौँ पटक विश्वकप खेलिरहेको छ। टोलीले सन् २०१४ मा पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको थियो। यसपटकको छनोट यात्रामा अल्जेरियाले उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बनेको थियो। टोलीका अग्रपंक्तिका खेलाडी मोहम्मद अमौराले १० गोल गर्दै छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रशिक्षक भ्लादिमिर पेट्कोभिचको नेतृत्वमा रहेको अल्जेरिया पनि राम्रो लयमा छ। विश्वकपअघि खेलेका चार अभ्यास खेलमध्ये तीनमा जित निकालेको टोलीले नेदरल्यान्ड्सलाई समेत पराजित गरेको थियो।

यस खेलमा अर्जेन्टिनाका कप्तान मेसीले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेल्नेछन्। साथै, उनी विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी बन्ने अवसरको संघारमा छन्।

गोलरक्षक एमिलियानो मार्टिनेज चोटमुक्त भएका छन् भने लियान्ड्रो पेरेडेस र निकोलस गोन्जालेज पनि उपलब्ध हुने अपेक्षा गरिएको छ। यद्यपि, निकोलस टाग्लियाफिको घाइते रहेकाले उनको स्थानमा अर्को खेलाडीले अवसर पाउन सक्नेछ।

अल्जेरियाका रक्षक रामी बेन्सेबैनी घुँडाको चोटका कारण खेल गुमाउने सम्भावना छ। टोलीका कप्तान रियाद महरेज र मोहम्मद अमौरा अल्जेरियाका प्रमुख खेलाडीका रूपमा हेरिएका छन्।

यसै समूहको अर्को खेलमा बुधबार बिहान ९ः४५ बजे अस्ट्रिया र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्