४० वर्षे गोलकिपर भोजिन्याको चमत्कारी प्रदर्शनले स्पेन रोकियो, रातारात विश्व फुटबलको चर्चामा

काठमाडौं २, असार ।  विश्वकप फुटबल केवल स्थापित स्टार खेलाडीहरूको प्रदर्शनको मञ्च मात्र होइन, कहिलेकाहीँ यसले नयाँ नायकहरू पनि जन्माउँछ। सोमबार राति अमेरिकाको एट्लान्टामा भएको खेलमा केप भर्डका ४० वर्षीय गोलकिपर भोजिन्याले त्यस्तै एउटा अविस्मरणीय कथा रचे।

विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डले सन् २०१० को विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक एक अंक हासिल गर्‍यो। खेलभर स्पेनले निरन्तर आक्रमण गरे पनि केप भर्डका अनुभवी गोलकिपर भोजिन्याले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई हारबाट जोगाए।

स्पेनले खेलभर २७ पटक गोल गर्ने प्रयास गरेको थियो भने सात प्रहार सिधै गोलपोस्टतर्फ आएका थिए। तर भोजिन्याले सबै प्रयासलाई विफल बनाउँदै आफ्नो टोलीका लागि अभेद्य सुरक्षा पर्खाल निर्माण गरे। दोस्रो हाफमा मैदान उत्रिएका स्पेनका युवा स्टार लामिन यमालसहितका खेलाडीहरू पनि उनको चुनौती पार गर्न असफल भए।

खेल सकिएपछि भावुक बनेका भोजिन्या मैदानमै रोएका थिए। साथी खेलाडीहरूले उनलाई अँगालो हालेर बधाई दिएका थिए। खेलपछि उनले आफ्नो सफलताको क्षण हेर्न नपाएका स्वर्गीय हजुरबुबा–हजुरआमा तथा आर्थिक कारणले अमेरिका आउन नसकेकी आमालाई सम्झिएका थिए।

“मैले जीवनभर यही एक पलका लागि मेहनत गरेको थिएँ। हाम्रो देशका धेरै पुस्ताले यो दिनको सपना देखे, तर पूरा गर्न सकेनन्। आज त्यो सपना साकार भएको छ,” भोजिन्याले प्रतिक्रिया दिए।

खेलपछि सामाजिक सञ्जालमा पनि उनको लोकप्रियता ह्वात्तै बढेको छ। केही घण्टामै उनको इन्स्टाग्राम फलोअर्स संख्या ५० हजारबाट बढेर ५० लाखभन्दा माथि पुगेको बताइएको छ।

सन् १९८६ मा केप भर्डको मिन्डेलो टापुमा जन्मिएका भोजिन्याले आफ्नो करिअरमा एंगोला, मोल्डोभा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट खेल्दै लामो संघर्ष गरेका छन्। हाल उनी पोर्चुगलको दोस्रो डिभिजन क्लब जीडी चाभेससँग आबद्ध छन्।

यसअघि उनले २०१३, २०१५, २०२१ र २०२३ को अफ्रिका कप अफ नेसन्समा केप भर्डको प्रतिनिधित्व गरिसकेका भए पनि विश्व फुटबलमा ठूलो पहिचान बनाउन सकेका थिएनन्। विश्वकपको यही ऐतिहासिक खेलले भने उनलाई रातारात अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा पुर्‍याएको छ।

स्पेनविरुद्धको उत्कृष्ट प्रदर्शनसँगै भोजिन्या अहिले विश्वकप २०२६ का सबैभन्दा प्रेरणादायी पात्रमध्ये एकका रूपमा चर्चा बटुलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्