विश्वकप फुटबल नि:शुल्क प्रसारण गर्न सांसद प्रमेश हमालको माग
काठमाडौं २ असार । नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप फुटबल नेपाल टेलिभिजनमार्फत् नि:शुल्क प्रसारण गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप फुटबल प्रसारणमा एकाधिकार (मोनोपोली) कायम रहेको भन्दै शुल्कका कारण धेरै दर्शक प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित भएको बताएका हुन्।
विश्वकप फुटबलप्रति आम नागरिक तथा विशेषगरी युवापुस्ताको ठूलो चासो रहेको उल्लेख गर्दै उनले हाल प्रतियोगिता हेर्न ९९९ रुपैयाँसम्म शुल्क तिर्नुपर्ने अवस्था रहेको बताए।
“विश्वकप सबैको चासोको विषय हो, युवाहरूको झन् ठूलो चासो छ। तर हेर्नका लागि ९९९ रुपैयाँ तिर्नुपर्छ। मोनोपोलीका कारण धेरै मानिस चाहेर पनि पहुँचमा पुग्न सकेका छैनन्,” बैठकमा उनले भने।
सांसद हमालले निजी सेवा प्रदायकहरूले पर्याप्त आम्दानी संकलन गरिसकेको हुन सक्ने भन्दै अब विश्वकपको प्रसारण सर्वसाधारणका लागि नि:शुल्क उपलब्ध गराउन आग्रह गरे।
“सभामुखमार्फत नेपाल सरकारलाई आफ्नो टेलिभिजनमार्फत नि:शुल्क उपलब्ध गराउन तथा सेवा प्रदायकहरूलाई पनि यस विषयमा ध्यान दिन आग्रह गर्दछु। अब नि:शुल्क प्रसारणको व्यवस्था गरियोस्,” उनले भने।
हाल नेपालमा विश्वकप फुटबल हिमालय स्पोर्ट्स एचडी च्यानलमार्फत प्रसारण भइरहेको छ। नेपालका लागि प्रतियोगिताको प्रसारण अधिकार एसप्रो मिडियाले खरिद गरेको हो।
मोबाइलमार्फत मात्र विश्वकप हेर्न चाहने दर्शकले डीएसहोम गो एपमार्फत ५४९ रुपैयाँमा प्रत्यक्ष प्रसारण हेर्न सक्ने व्यवस्था रहेको छ भने पूर्ण प्याकेजका लागि ९९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यसअघि सन् २०२२ को विश्वकप नेपालमा करसहित ५६५ रुपैयाँमा प्रसारण गरिएको थियो। यसपटकको शुल्क अघिल्लो संस्करणको तुलनामा झण्डै दोब्बर भएको देखिएको छ।
अघिल्लो विश्वकपका लागि मिडिया हब प्रालिले भारतको भायकम–१८ बाट प्रसारण अधिकार खरिद गरेको थियो। यसपटक भने एसप्रो मिडियाले फिफाबाट सिधै प्रसारण अधिकार खरिद गरेको जनाएको छ।
एसप्रो मिडियाका अनुसार फिफाबाट प्रत्यक्ष प्रसारण अधिकार खरिद गर्नुका साथै अमेरिकी डलरको विनिमय दर बढेकाले विश्वकप प्रसारणको लागत वृद्धि भएको र सोहीअनुसार शुल्क निर्धारण गरिएको हो।





प्रतिक्रिया दिनुहोस्