‘मास्टरसेफ’ सन्तोष साह ठगी मुद्दामा ३ दिन हिरासतमा, अदालतबाट म्याद अनुमति
बाठमाडौं १, असार । चर्चित सेफ सन्तोष साहलाई ठगी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले ३ दिनको म्याद लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जिल्ला अदालतबाट म्याद अनुमति लिएर उनलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो।
प्रहरीका अनुसार ४ लाख ५० हजार रुपैयाँको ठगी आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भई पक्राउ पुर्जी जारी गरिएको थियो। सोही आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
साहमाथि बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा पनि प्रक्रिया चलिरहेको बताइएको छ। आर्जव होल्डिङ प्रालिसँग सम्बन्धित २५ लाख रुपैयाँको चेक नसाटिएको घटनामा अदालतले बिगो भराउने र १ महिना कैद सजायको फैसला गरिसकेको छ।
सिरहाको कर्जन्हा नगरपालिका–९ घर भई काठमाडौँमा बस्दै आएका साहले ‘मिथिला थाली’ नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। उनले काठमाडौँ, ललितपुर र जनकपुरमा शाखा विस्तार गरेका छन्।
साह २०२० को बीबीसी मास्टरसेफ द प्रोफेसनल्सका प्रतिस्पर्धी हुन्। उक्त प्रतियोगितामा सेकेन्ड रनरअप बनेपछि उनी अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेका थिए।





प्रतिक्रिया दिनुहोस्