काठमाडौंमा भाडामा लगाइएका सम्पत्ति अनिवार्य दर्ता गरिने, ज्येष्ठ नागरिकलाई पोषण भत्ता

काठमाडौं ३१ जेष्ठ । काठमाडौं महानगरपालिकाभित्र भाडामा लगाइएका घरजग्गा, भवन तथा अन्य संरचना र सम्पत्ति अब अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिने भएको छ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा घर बहाललाई औपचारिक प्रणालीभित्र ल्याउने उद्देश्यसहित यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।

नीति तथा कार्यक्रमअनुसार भाडामा लगाइएका सम्पत्तिको अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन एकीकृत करदाता परिचय नम्बर प्रदान गरिनेछ। यसले कर प्रशासनलाई व्यवस्थित बनाउनुका साथै घर बहाल कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महानगरपालिकाले सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रममार्फत ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका नगरवासीलाई पोषण भत्ता उपलब्ध गराइने घोषणा गरिएको छ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौंलाई ‘मानवीयताको सहर’का रूपमा विकास गर्ने लक्ष्य लिइएको बताइन्। उनले नागरिकमैत्री सेवा, सामाजिक सुरक्षा, सुशासन तथा समावेशी विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गरिएको जानकारी दिइन्।

महानगरले आगामी वर्ष कर प्रणाली सुधार, सेवा प्रवाहमा प्रविधिको प्रयोग, सामाजिक संरक्षण तथा व्यवस्थित सहरी व्यवस्थापनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि सारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्