विश्व आदिवासी युवा सम्मेलन–२०२६ सम्पन्न, अधिकार र जलवायु न्यायका विषयमा व्यापक छलफल
काठमाडौं ३१ जेष्ठ । आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा ‘विश्व आदिवासी युवा सम्मेलन–२०२६’ सम्पन्न भएको छ। जेठ ३० र ३१ गते आयोजित सम्मेलनमा आदिवासी जनजाति समुदाय र युवासँग सम्बन्धित विविध विषयमा छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरिएको आयोजकले जनाएको छ।
महासङ्घ नेपालका अध्यक्ष किरण श्रेष्ठका अनुसार सम्मेलनमा आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्र, संयुक्त राष्ट्रसंघीय निकायका कार्यक्रम, विश्वव्यापी मञ्चमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर व्यापक छलफल गरिएको थियो।
सम्मेलनमा जलवायु न्याय, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण तथा वातावरणीय संरक्षणमा युवाको भूमिका सशक्त बनाउने विषयलाई विशेष प्राथमिकता दिइएको थियो। साथै, विश्व आदिवासी युवा घोषणापत्र तथा कार्ययोजना निर्माणका विषयमा समेत सहभागीहरूबीच विचार आदानप्रदान भएको आयोजकले जनाएको छ।
देशका विभिन्न क्षेत्रबाट सहभागी आदिवासी जनजातिसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिको अधिकार, क्षेत्रीय तथा विकासात्मक चुनौती, आत्मनिर्णयको अधिकार तथा आदिवासी आन्दोलनमा युवाको भूमिकाबारे आफ्नो धारणा राखेका थिए।
सम्मेलनले आदिवासी युवाको नेतृत्व विकास, नीति निर्माण तहमा सहभागिता अभिवृद्धि तथा विश्वव्यापी सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ। सहभागीहरूले आदिवासी समुदायका मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा थप प्रभावकारी रूपमा उठाउन युवाहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए।





प्रतिक्रिया दिनुहोस्