रञ्जु दर्शनाद्वारा व्यवसायलाई सामाजिक विकाससँग जोड्नुपर्नेमा जोड

 

काठमाडौं । प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकाससँग जोड्नु सकारात्मक कार्य भएको बताएकी छन्।

विश्व रक्तदाता दिवसको अवसरमा गोल्याण ग्रुपले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले व्यापार–व्यवसायबाट आर्जित नाफा समाजको विकासमा पनि लगानी हुनुपर्ने धारणा राखिन्।

उनले भनिन्, “व्यापार–व्यवसायबाट कमाएको पैसालाई समाजको विकासमा पनि लगानी गर्नुपर्छ, समाजसँग जोडिनु निकै राम्रो काम हो। गोल्याण ग्रुपले यही कुरा आत्मसात गर्दै सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ।”

सांसद दर्शनाले गोल्याण ग्रुपको कर्पोरेट कार्यालय रहेको क्षेत्र आफ्नो निर्वाचन क्षेत्रसमेत भएको उल्लेख गर्दै स्थानीय समुदायलाई पनि सामाजिक कार्यमा जोड्न सुझाव दिइन्।

उनले रक्तदान जस्ता कार्यक्रमले समाजलाई ठूलो लाभ पुर्‍याउने बताइन्। “रगतको महत्व त्यतिबेला थाहा हुन्छ, जब कुनै व्यक्ति वा उसका आफन्त अस्पतालमा रगतको अभावमा पीडित हुन्छन्,” उनले भनिन्, “त्यसैले यस्तो कार्यक्रम समाजप्रतिको महत्वपूर्ण योगदान हो।”

कार्यक्रममा गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखिएको बताए।

उनले रगतको मूल्य कुनै वस्तुसँग तुलना गर्न नसकिने उल्लेख गर्दै रक्तदान जस्ता मानवीय कार्यलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए। उनले युवा पुस्ताले ल्याएको परिवर्तनलाई सम्मान गर्दै सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्