एशियाली खेलकुद पौडी छनोट विवाद सर्वोच्चमा, खेलाडीहरूको रिट दायर
काठमाडौं ३१ जेष्ठ । एशियाली खेलकुदका लागि पौडी खेलाडी छनोट प्रक्रियामा अन्याय भएको आरोप लगाउँदै खेलाडीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
पौडीवाज इर्भिन श्रेष्ठ, माधवी केसी र निर्णय थापाले आफूहरूलाई अवसर नै नदिई नेपाल पौडी संघले मनोमानी रूपमा खेलाडी छनोट गरेको दाबी गर्दै रिट दायर गरेका हुन्। उनीहरूले नेपाल पौडी संघ, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदलाई विपक्षी बनाएका छन्।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले दुवै पक्षलाई असार ३ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।
निवेदनअनुसार नेपाल पौडी संघले वैशाख १७ गते सूचना जारी गर्दै तेस्रो नेपाल एक्वाटिक स्विमिङ च्याम्पियनशिप जेठ २३ र २४ गते हुने जानकारी दिएको थियो। उक्त प्रतियोगिताबाट जापानमा हुने २०औँ एशियाली खेलकुदका लागि पुरुष र महिला गरी ८–८ जना खेलाडी प्रि-क्वालिफिकेशनका लागि छनोट गर्ने योजना थियो।
तर प्रतियोगिता चलिरहेकै अवस्थामा जेठ २४ गते बिहान संघले सूचना टाँस गर्दै उक्त च्याम्पियनशिपलाई नै एशियाली खेलकुदको अन्तिम छनोटमा परिणत गरिएको भन्दै खेलाडीहरूले आपत्ति जनाएका छन्।
निवेदनमा राष्ट्रिय खेलकुद परिषदले जेठ २२ गते ५ दिनभित्र खेलाडी छनोट गरेर पठाउन दिएको पत्रलाई आधार बनाएर नियम परिवर्तन गरिएको आरोप लगाइएको छ।
खेलाडीहरूले जेठ २४ गतेको निर्णय बदर गर्दै पूर्वसूचना अनुसार निष्पक्ष र पारदर्शी रूपमा छनोट प्रक्रिया अघि बढाउन परमादेश माग गरेका छन्।
साथै, मुद्दा टुंगो नलाग्दासम्म उक्त छनोट प्रक्रिया कार्यान्वयन नगर्न अन्तरिम आदेश र मुद्दालाई अग्राधिकारमा राख्न समेत माग गरिएको छ।





प्रतिक्रिया दिनुहोस्