काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, युवादेखि ज्येष्ठ नागरिकसम्म लक्षित योजना

काठमाडौं ३१ जेष्ठ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर सभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डङ्गोलले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

महानगरले युवा केन्द्रित स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। युवालाई स्वरोजगारतर्फ आकर्षित गर्दै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ।

त्यसैगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, एकल महिला तथा सहिद परिवार लगायत पछाडि परेका समुदायका लागि लक्षित सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

‘एक वडा एक नमुना कार्यक्रम’ लाई संस्थागत गर्दै प्रभावकारी कार्यान्वयन र दिगोपना सुनिश्चित गरिने नीति पनि अघि सारिएको छ। ज्येष्ठ तथा अशक्त नागरिकका लागि घरमै स्वास्थ्य तथा परामर्श सेवा निःशुल्क उपलब्ध गराइने तथा ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई पोषण भत्ता प्रदान गरिनेछ।

महानगरले ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौं’ घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ‘मानवीयताको सहर’ निर्माण गर्ने लक्ष्य लिएको छ।

त्यसैगरी परम्परागत र आधुनिक ज्ञान, सीप तथा कलाको प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिने नीति पनि समावेश गरिएको छ।

महानगर क्षेत्रका टोल, विद्यालय, पार्क तथा समुदायमा चरा–चुरुङ्गी मैत्री अभ्यास सञ्चालन गर्ने र उनीहरूका लागि पानीको व्यवस्था गर्न पानी पात्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ।

यसैगरी नवपुस्ता ‘जेन जेड’ र ‘जेन अल्फा’ लक्षित विशेष कार्यक्रम सञ्चालन गर्दै उनीहरूलाई सुशासनका संवाहकका रूपमा सहभागी गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्